२१ फिल्मी पत्रकारद्वारा अवार्ड घोषणा, निर्णायकमा अनुपदेखि आकाशसम्म



रंगखबर, काठमाडौँ – वर्षेनी नेपालमा आयोजना हुने दर्जन बढी फिल्म अवार्ड निष्पक्ष हुन् सकेका छैनन् । त्यसैले कलाकर्मी कामको सहि मुल्यांकन हुन् सकिरहेको छैन ।

प्रतिष्ठित मानिएको राष्ट्रिय फिल्म अवार्ड पनि यसपटक विवादबाट बच्न सकेन । विशेषत अवार्डको निष्पक्षतामा प्रश्न चिन्ह खडा भयो । बाँकी, अवार्ड नाम मात्रको भैरहेका छन् ।

विकृतिको रुपमा मौलाईरहेको फिल्मी अवार्डको भिडमा एउटा नयाँ अवार्ड घोषणा गरिएको छ । २१ जना सिनेपत्रकार मिलेर आयोजना गर्न लागिएको ‘नेपाल फिल्म अवार्ड (नेफा) अन्य भन्दा उत्कृष्ट रहला त ?

बुधबार राजधानीमा प्रेसमिट आयोजना गरि आयोजकले अवार्डको बारेमा जानकारी दियो । घोषणा हेर्दा यो अहिलेसम्मकै निष्पक्ष, विवादरहित र भव्य अवार्ड बन्ने अनुमान गर्न सकिन्छ । हुनत, भव्य रुपमा घोषणा गरिएका अवार्ड समारोहले अन्तिममा गएर आफ्नो साख जोगाउन सकिरहेका छैनन् ।

अब हेर्न बाँकी छ, चार चरणमा विभाजन गरेर आयोजना गर्न लागिएको अवार्ड कस्तो हुनेछ ?

बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले तयारी गरेको अवार्डसँग अवार्डसँग चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आयोजनाको लागि सहकार्य गरेका छन् ।

नेपाली सिनेमाको प्रचार-प्रसार र आन्तरिक पर्यटन प्रवर्द्दनलाई मुख्य उद्येश्य बनाएको अवार्डको लागत २ करोड अनुमान गरिएको बलामी इन्टरटेनमेन्टका अध्यक्ष समीर बलामीले जानकारी दिए ।

अवार्डलाई चार तहमा विभाजन गरेका छौँ । पहिलो चरणमा घोषणा, त्यसपछि मनोनयन सार्वजनिक समारोह, ग्राण्ड अवार्ड समारोह र अन्त्यमा विशेष धन्यवाद समारोह हुँदै ‘२०७६ अवार्ड’ सम्पन्न हुनेछ । भव्य, सभ्य र निष्पक्ष अवार्ड हाम्रो चाहना हो ‘ बलामीले भने ।

पपुलर तर्फ ५ र निर्णायक अधिकार तर्फ १४ विधा रहने अवार्डमा नयाँदेखि वरिष्ठ कलाकारसम्मलाई कार्यविधिको मापदण्डमा राखेर विभिन्न प्रस्तुतिहरु समावेश गरिने बताइएको छ ।

आयोजकको निर्णयबाट नेपाली सिनेमाप्रति समर्पित व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । पपुलर तर्फको अवार्ड दर्शक भोटिङको आधारमा तय गरिनेछ ।

पपुलर विधा अन्तर्गत चलचित्र, अभिनेता, अभिनेत्री, गायिका, गायक रहेका छन् । भने, बेष्ट अवार्ड तर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव-निर्देशक, नव-अभिनेता, नव-अभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायाँकार, संगीतकार, र आदिवासी जनजाति समावेश गरिएको छ ।

नेफा मिडिया ग्रुपद्वारा जारी कार्यविधि अनुसार संचालन हुने नेपाल फिल्म अवार्ड (नेफा) स्वदेशी र विदेशी भूमिमामा आयोजना हुनेछ । आयोजकले हरेक अवार्ड (ट्रफी)मा ३५ तोलादेखि ५० तोलासम्म चाँदी समावेश गर्ने बताएको छ । लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन हुनेछ । भने, १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ ।

पहिलो संस्करणको निर्णायक समितिमा निर्माता/निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक/कलाकार अनुप बराल छन् ।

५० लाख लागतमा सेट लगाएर काठमाडौँमै भव्य रुपमा आयोजना गरिने अवार्डमा नेपाल सरकारका उच्च प्रतिनिधि उपस्थिति रहने बताइएको छ । अवार्ड वितरण, नेपाली कला-संस्कृति विशेष प्रस्तुतिसहित सम्पन्न हुने समारोहलाई पूर्ण मनोरंजनसहितको ग्ल्यामर नाइट व्याख्या गरिएको छ ।

सिसी क्यामरासहितको कार्यक्रम स्थलमा ८० जना बढी स्वयमसेवक तथा सुरक्षाकर्मी खटाइने छ । साथै, स्थलमा इन्टरनेट सेवा पनि संचालन गरिनेछ । मनोनयनमा परेका कलाकार, वरिष्ठ कलाकार र प्रस्तुति दिने कलाकारहरुलाई कार्यक्रम स्थल आवत-जावतका निमित्त यातायातको सुविधा उपलब्ध गराइने जानकारी दिइएको छ । स्वदेशी तथा विदेशी गरि १० हजार दर्शक समारोहको लक्ष्य रहेको छ ।

तस्विर: आर्यन बिमली

प्रतिक्रिया दिनुहोस्