‘हजार जुनीसम्म’की माया सार्वजनिक



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि अलनेपाल रिलिज भएको फिल्म ‘हजार जुनीसम्म’को नयाँ गीत सार्वजनिक गरिएको छ । प्रचारमा लुकाइएकी अभिनेत्री प्रियंका कार्कीले गीतमा आर्यन सिग्देलसँग रोमान्स गरेकी छिन् ।

फिल्मको ट्रेलर तथा प्रचार सामाग्रीमा प्रियंकालाई निर्माण पक्षले लुकाएको थियो । भ्रमित पार्ने ट्रेलरमा आर्यनले प्रेमिका (माया)को पर्खाइमा १४ वर्ष विताएका एक अधवैशें पुरुषको भूमिका निर्वाह गरेका छन् । तर, माया को हुन् भन्ने कुरा सस्पेन्स राख्न खोजिएको छ ।

फिल्म रिलिजको चौंथो दिनमा त्यो सस्पेन्स खोलिएको छ । ट्रेलरमा लुकाएकी ‘माया’ प्रियंका कार्की हुन् । उनलाई कलाकारको रुपमा टिमले घोषणा सभा र यहि गीतको स्टिल फोटो  मार्फत सार्वजनिक गरिसकेको थियो । त्यो कुरामा त सबै जानकार नै छौँ कि कसो ।

पहिलो पटक फिल्मको युट्युब भिडियोमा सार्वजनिक भएका आर्यन र प्रियंकाको केमेस्ट्री सुहाएको छ । तर, कविराज गहतराजको कोरियोग्राफी कमजोर लाग्छ । सुगम पोखरेलले स्वर भरेको गीतमा प्रविण पौडेलको संगीत र मानस विक्रम थापाको शब्द छ ।

प्रेमकथानक फिल्ममा आर्यन र प्रियंकासँगै स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, अनुभव रेग्मी, शिवहरी पौडेल र अखिलेश प्रधानको मुख्य भूमिका छ । अखिलेशले यहि फिल्मबाट डेब्यु गरेका छन् ।

आशा गरिएको फिल्मले बक्सअफिसमा लगातार कमजोर व्यापार गरिरहेको छ । तर, निर्माण पक्ष यो सत्य मान्न चाहन्न ।

प्रतिक्रिया दिनुहोस्