‘रातो टिका निधारमा’ ट्रेलर रिलिज, दशैँमा वैदेशिक रोजगारको कथा



रंगखबर, काठमाडौँ – प्रतिक्षित फिल्म ‘रातो टिका निधारमा’को ट्रेलर रिलिज भएको छ । शुक्रबारै हलमा ट्रेलर रिलिज गरिएको थियो । हल पुग्न नपाएका दर्शकका लागि मंगलबार युट्युबमा ट्रेलर सार्वजनिक गरिएको हो।

अशोक शर्मा निर्देशित फिल्मले वैदेशिक रोजगारको कथा वाचन गर्ने ट्रेलरले प्रस्ट्याउछ । फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले गाउँले युवतीको भूमिका निर्वाह गरेकी छन् । कुनै समय गाउँले भूमिका मन पर्दैन भन्ने समाचार शिर्षकले गर्दा साम्राज्ञीले आलोचना थेग्नु परेको थियो ।

यहि फिल्मबाट भेट्रान निर्देशक अशोक शर्माले छोरा अंकित शर्मालाई डेब्यु गराएका छन् । अंकितले वैदेशिक रोजगारमा पठाउने एजेन्टको भूमिका निर्वाह गरेका छन् ।

नेपालीको समसामयिक मुद्दालाई कमेडी र संवेदनामा ढालिएको फिल्ममा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्म दशैँको अवसर पारेर असोज १० देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्