‘पोइ पर्यो काले’लाई न्यून शो, ‘छ माया छपक्कै’को ५४.२३ प्रतिशत गिरावट



रंगखबर, काठमाडौँ – यो साता तिहार लक्षित गरेर तीन वटा फिल्म नेपाली बक्सअफिसमा रिलिज हुँदैछन् । नेपाली ‘पोइ पर्यो काले’सँगै बलिउडबाट ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ले बक्सअफिसमा अवतरण गर्नेछन् ।

शुक्रबारको प्रदर्शनलाई हेरेर मल्टीप्लेक्सले अग्रिम बुकिङ खुलाएका छन् । राजधानीबाट संचालनमा आएका देशका ७ मल्टीप्लेक्स च्यानलले यो साताको लागी जम्मा १ सय ६५ शोज निकालेका छन् । भने, कम शोज पाएको कारण ‘घामड शेरे’ दुई साता पछाडी धकेलिएको छ ।

अगाडी रिलिज भएका ‘छ माया छपक्कै’, ‘जोकर’, ‘मेलफिसेन्ट’, ‘कबड्डी ३’ जस्ता फिल्मको शोजमा शुक्रबारदेखि कटौती भएको छ । हेरौँ कुन फिल्मले मल्टीप्लेक्समा कति स्थान सुरक्षित गरे ।

‘पोइ पर्यो काले’को पक्षमा १४.५४ प्रतिशत शो

मल्टीस्टारर ‘पोइ पर्यो काले’ले सुरुवातमा अत्यन्त कम शो पाएको छ । यसलाई अलनेपाल १४.५४ (२४) शोज प्राप्त छ । आशा गरिएका फिल्म मध्ये ‘पोइ पर्यो काले’ले पाएको शोज यो वर्षकै सर्वाधिक कम हो । यसअघि ‘मारुनी’ले १५.४९ हिस्सा ओगटेको थियो ।

सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर अभिनित फिल्मलाई क्युएफएक्सले अलनेपाल १३,  बिग/एफक्युब/बिएसआर/सिडिसी/वान सिनेमाजले समान २/२ शोज बाँडेका छन् । भने, क्युजले १ शो दिएको छ ।

दोस्रो साताको तुलनामा ‘छ माया छपक्कै’को ५४.२३ प्रतिशत गिरावट

यो शुक्रबारदेखि सफलताको तेस्रो सातामा उक्लिएको ‘छ माया छपक्कै’को शोजमा पनि भारी कटौती भएको छ । विहिबारसम्म ५९ शोजमा प्रदर्शन भैरहेको फिल्मको शोजमा शुक्रबार ५४.२३ प्रतिशत गिरावट आउनेछ । सुरुवातमा ४८.४४ (७८) प्रतिशत शो पाएको फिल्म तेस्रो साताबाट १६.३६ (२७) प्रतिशतमा झरेको छ ।

दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतको अभिनय रहेको फिल्मले १० करोड माथीको ग्रस कलेक्सन गरिसकेको छ ।

५२.१२ प्रतिशत हिस्सा ‘हाउसफुल ४’

बलिउडको बहुप्रतिक्षित ‘हाउसफुल ४’लाई नेपाली दर्शकले पनि पर्खिएका छन् । त्यसैले यो साता नेपाली बक्सअफिसमा ‘हाउसफुल ४’को दबदबा कायम रहनेछ । यो फिल्मलाई मल्टीप्लेक्समा ५२.१२ (८६) प्रतिशत स्थान मिलेको छ ।

अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृति सेनोन, पूजा हेग्दे अभिनित फिल्मले भारतमा पनि उम्दा कमाई गर्ने अनुमान छ ।

यस्तै ‘मेड इन चाइना’ले ९.०९, जोकरले ३.६३, मेलफिसेन्टले २.४२ र ‘कबड्डी कबड्डी कबड्डी’ले १.२१ प्रतिशत हिस्सा ओगटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्