‘जस्मिन’ फस्टलुक रिलिज, आर्यनको यस्तो अवतार



रंगखबर, काठमाडौँ – फिल्म ‘जस्मिन’को फस्टलुक पोस्टर रिलिज भएको छ । एउटा संघर्षरत संगीतप्रेमीको जर्नीमा आधारित फिल्ममा आर्यन अधिकारीको मुख्य भूमिका छ । उनि पोस्टरमा पनि चित्रित छन् ।

शंकर कार्की निर्देशित फिल्मले एक अन्जान पात्रले उक्त संगीतप्रेमीलाई कतिसम्म निस्वार्थ सहयोग गर्छ भन्ने, केन्द्रिय द्वन्द्व बोकेको छ ।

‘संगीतप्रेमीको जर्नी, एक अन्जान पात्रको निस्वार्थ सहयोग, साथीहरुको सम्बन्ध, पारिवारिक समस्या, समाजमा देखिने/सुनिने गम्भीर कुरालाई सिनेमाले आत्मसाथ गरेको छ ।’ यसअघि ‘रोमियो’ निर्देशन गरिसकेका कार्कीले कथाबस्तुको बारेमा खुलाए ।

फिल्ममा आर्यनका अलावा अशिष्मा नकर्मी, के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल, मिना बानियाँ र बालकलाकार श्रवणी थापाले अभिनय गरेका छन् । सेविकाको यो डेब्यु फिल्म हो ।

नेपालमा ७५ प्रतिशत छायाँकन सकिएको फिल्मको चाइना सेड्युल बाँकी छ । त्यहाँ २५ प्रतिशित दृश्य खिचेपछि फिल्म पोस्ट-प्रोडक्सनमा जानेछ ।

२ करोड ७५ लाख बजेटमा निर्माण भएको फिल्ममा किरण घिमिरे (माइकल)को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन र कोसिस क्षेत्री/कल्याण सिंह/एलिश कार्की/किरण घिमिरेको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्