वाह… दीपकराज र रोहित नेपाली फिल्मको लागि क्या लडिरहेका छन् !



रंगखबर, काठमाडौँ – बेला बखत नेपाली बक्सअफिसलाई लिएर निर्माताले गुनासो पोख्ने गर्छन, ‘विदेशीलाई काखा-नेपालीलाई पाखा’ । सोमबार पनि बलिउड फिल्म ‘दबंग ३’ले पाएको शोजमा असन्तुष्टि व्यक्त गर्दै ‘छ माया छपक्कै’ निर्माता रोहित अधिकारीले स्टाटस लेखे ।

उनि फेसबुकमा लेख्छन ‘हिन्दी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा कसरी गर्छन त हलवालाहरु देखिहाल्नु भयो… यो दबङ भन्दा ४-५ गुना बढि हाम्रो नेपाली फिल्म छक्का पन्जा सिरिजहरु चलेका थिए तर शोज चाहि ४-५ गुना कम थियो नेपाली फिल्म भएरै कम दिइएको थियो …’

यहि स्टाटस शेयर गर्दै कलाकार दीपकराज गिरी थप्छन ‘सत्य कुरा …सहि हो ….देशै उताबाट चल्या छ
हलको के कुरा….निर्माताहरू हलवालासंग डराउछन्, हलवाला बितरकसंग डराउछन्, बितरक उताको खान्छन् अनि यता कराउछन्!!!’

यी फिल्मकर्मीले यसरी स्टाटस लेख्नुको कारण जे सुकै होला । तर, समय सापेक्ष पटक्कै देखिएन । किनकी, ‘दबंग ३’को शोजलाई लिएर रडाको मच्चाउनुको कुनै तुक छैन । बरु निर्माता अधिकारीले स्टाटस लेखेर चर्चामा आउन खोजेको जस्तो देखिन्छ । अर्को लाजमर्दो कुरा, उनले आफ्नो स्टाटसमा लेखिएका समाचार पनि भटाभट शेयर गरिरहेका छन् ।

नेपाली फिल्मप्रति हलवाला र वितरकले गर्ने मनोमानीको विषयमा निर्माताहरुले लामो समयदेखि आवाज उठाउदै आएका छन् । तर, आफुलाई पर्दा मात्र । ‘दबंग ३’ले पाएको शोजलाई लिएर गुनासो गर्नु त केवल ‘म बोलिरहेको छु है’ भनेर देखाउनु जस्तो मात्र हो ।

‘दबंग ३’ले सर्वाधिक शोज पाउनुको कारण अन्य प्रतिस्पर्धी फिल्म नभएरै हो । यो फिल्म आउने डरले कुनै पनि नेपाली फिल्म रिलिज भएनन् । अनि भएजति शोज ‘दबंग ३’लाई दिइयो । यहाँ कुनै नेपाली फिल्मलाई पाखा लगाएर विदेशीलाई काखा च्यापिएको थिएन ।

अब कुरा गरौँ, दशैँमा रिलिज भएको ‘छ माया छपक्कै’को बारेमा । दशैँ यस्तो चाड हो, जहाँ नेपाली निर्माता आफ्नो फिल्म रिलिज गर्न हानाथाप गर्छन । यसपटक पनि त्यस्तै भयो ।

हलमा ‘कबड्डी कबड्डी कबड्डी’ सफलताका साथ प्रदर्शन भैरहेको थियो । बलिउडको ‘वार’ र हलिउडको ‘जोकर’ले पनि जबर्जस्त दर्शक तानिरहेका थिए । यसै बीचमा रिलिज भएको ‘छ माया छपक्कै’लाई मल्टीप्लेक्सले ४८.४४ प्रतिशत शोज छुट्ट्याए । जुन निक्कै राम्रो हो ।

यस्तै दीपक-दीपा क्याम्पबाट रिलिज हुने पछिल्ला फिल्मलाई मल्टीप्लेक्सले चित्त दुखाउने शोज बाँडेका छैनन् । नत्र वर्षकै सर्वाधिक ग्रसरको अग्रपंतिमा ‘छक्का पन्जा’ सिरिजका फिल्म हुने थिएनन् ।

बरु यस वर्ष रिलिज भएको ‘घामड शेरे’ बलिउड फिल्म ‘हाउसफुल ४’को चपेटामा पर्दा दीपकराज चुपचाप बसे । तिहारमा रिलिज हुने भनिएको ‘घामड शेरे’ दुई साता पछाडी सर्यो । हलवालाको मनोमानीलाई लिएर निश्चल एक्लै कुर्लिए । उनलाई कसैको साथ मिलेन ।

साच्चिकै निर्माता चेपुवामा पर्दा दीपकराज गिरी बोलिदिएको भए थोरै भएपनि राहत हुने थियो । यहाँ त बिना बादल पानी पार्न खोजेको जस्तै देखियो । कति बाठा दीपकराज !

र, अर्को तितो सत्य, हलमा सर्वाधिक शोज पाउन फिल्म नै बलियो हुनुपर्दछ । नत्र पुरै हल ओगटेर एउटै दर्शक हल नआएका फिल्म पनि छन् यहाँ । यसको पछिल्लो उदाहरण ‘घामड शेरे’ नै हो । पहिला कम शोज पाएर पछाडी धकेलिएको फिल्मले दुई साता पछाडी उल्लेख्य शोज पाउँदा पनि दर्शक तान्न सकेन । बक्सअफिसमा आएपछि बल्ल थाहा भयो, सायद फिल्मले पुर्वनिर्धारित मितिमा पाएको शोज पनि भर्न सक्थेन ।

पछिल्लो समय नेपालमा स्तरीय फिल्म बन्न छोडेका छन् । दर्शकले फिल्म नपत्याएपछि बिभिन्न बहाना बनाउने नेपाली मेकरको पुरानै बानी हो । राम्रो फिल्म बन्दा कम शोज दिएपनि दर्शक हलसम्म पुग्छन । यो कुरा नेपाली फिल्मकर्मीले बुझ्ने कहिले ?

प्रतिक्रिया दिनुहोस्