‘साङ्लो’ ट्रेलरमा विराजको भरपुर एक्सन



रंगखबर, काठमाडौँ – विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’को ट्रेलर रिलिज गरिएको छ । एक्सन प्रधान फिल्मको ट्रेलरमा एक्सनका दमदार दृश्य समावेश गरिएको छ ।

आफ्नो लोकप्रिय जनरामा विराज छाएका छन् । फिल्मको निर्देशकसमेत स्वयम् हुन् । करिब चार वर्ष अगाडी रिलिज भएको ‘जय परशुराम’ पश्चात विराजको फिल्म पर्खेका दर्शकलाई ‘साङ्लो’ उपहार हुन् सक्छ ।

कमेडी, रोमान्स, प्रेम र एक्सनले भरपुर ट्रेलरले चेलीबेटी अपरहणको कथा संकेत गर्छ । तर, ट्रेलरमा मूल कथा लुकाउन खोजिएको छ । ‘साङ्लो’ मार्फत ‘मिस नेपाल – २०१७’ निकिता चाण्डकले डेब्यु गरेकी छन् । विराजको प्रेमिकाको भूमिकामा देखिएकी निकिताको ट्रेलर स्पेस कम महसुस हुन्छ ।

विराजकै लगानीमा निर्माण भएको फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी र भिष्म जोशीको पनि अभिनय छ ।

शिवम अधिकारीले लेखेको फिल्म माघ २४ गते रिलिज हुँदैछ । फिल्ममा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्