सुव्रतले ‘के घर के डेरा’ निर्देशन गर्ने, यस्तो छ कास्ट एण्ड क्रु



रंगखबर, काठमाडौँ – संचारकर्मी हुँदै निर्देशन यात्रा तय गरेका सुव्रतराज आचार्यले नयाँ फिल्म निर्माण घोषणा गरेका छन् । सोमबार राजधानीमा प्रेसमिट आयोजना गरि आचार्यले आफ्नो तेस्रो निर्देशकीय फिल्म ‘के घर के डेरा’ घोषणा गरे ।

राजधानीमा कोठा भाडामा लिएर बस्नेहरुको कथा बन्ने फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लूनिभा तुलाधर, आर्सिना भट्टलगायतका कलाकारको अभिनय रहनेछ ।

‘के घर के डेरा’ नाममा निर्देशक प्रदीप रिमालले ३५ वर्ष अगाडी फिल्म निर्माण गरेका थिए । उक्त फिल्म सफल पनि भएको थियो । निर्देशक सुव्रतले त्यहि नाम सापटी लिएर नयाँ फिल्म बनाउन लागेका हुन् । ‘अर्धकट्टी’बाट फिल्म निर्देशनमा होमिएका सुव्रतको ‘सुश्री सम्पति’ पनि रिलिज भैसकेको छ ।

ताक्पा तामाङ (सिंगे लामा)को कन्सेप्टमा बन्ने फिल्ममा निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहनेछ । सफल र प्रतिकले निर्देशन गरेको फिल्म ‘हरी’ समिक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्मलाई दिर्घ वीर गुरुङले खिच्नेछन् । फिल्ममा शंकर थापा (स्माइल)को संगीत, मित्र डी गुरुङको सम्पादन र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ ।

सिंगे लामाको कार्यकारी निर्माण रहने फिल्ममा राजीव श्रेष्ठ र किरण महर्जन निर्माता छन् । यस्तै यमप्रसाद ओली फिल्मका सह-निर्माता हुन् । सिनेमालाई आगामी वर्षको हरितालिका तीजमा रिलिज गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्