असोज पहिलो सातादेखि ‘डान्सिङ वीथ द स्टार्स नेपाल’को प्रशारण



रंगखबर, काठमाडौँ – नेपालको लागि प्रतिक्षित डान्स रियालिटी शो ‘डान्सिङ वीथ द स्टार्स नेपाल’को प्रशारण मिति फाइनल भएको छ । अब यो शो असोज २ देखि हिमालय टिभी एचडीबाट शुक्रबार र शनिबार साँझ ८ बजे प्रशारण हुनेछ ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले प्रशारणको लागि सम्पूर्ण तयारी सकिएको जानकारी दिए । ‘लकडाउनका कारण रोकिएको शोको छायांकन बिबिसीको गाइडलाइनमा रहेर सुरु गरिसकेका छौँ । लकडाउनमा घरमै थुनिएर बसेका दर्शकका लागि मनोरंजन दिने हेतुले कोरोना कालमै प्रशारण सुरु गर्न लागेका हौँ ।’ निर्देशक पौडेलले भने ।

२६ भागसम्म चल्ने शोमा १२ जना स्टार कलाकारले एक-एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर शोमा सहभागिता जनाउनेछन् । जसमध्ये भोटिङ मार्फत हरेक साता एक जना प्रतिस्पर्धी एलिमिनेसन हुनेछन ।

पहिलो सिजनमा लोकगायिका ज्योति मगर, ‘नेपाल आइडल सिजन १’ विजेता बुद्ध लामा, हास्यकलाकार उमेश राई (फुलन्देकी आमा), फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पुर्व फुटबल कप्तान हरि खड्का, कलाकार एवं मोडल रक्षा श्रेष्ठ, अभिनेत्री सुमी मोक्तान, फिल्म ‘ब्लाइन्ड रक्स’ गायिका सृष्टि केसी, मधेशकी चर्चित अभिनेत्री पूजा ठाकुर, टिकटक स्टार ट्वीन्स दीपा-दमयन्ता र  बालकलाकार देवयांसी बैदबारले प्रतिस्पर्धा गर्दैछन् ।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने बताइएको शोको विजेताले २० लाख नगद (करसहित) र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्