कस्तो छ धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’को ट्रेलर ?



रंगखबर, काठमाडौँ – सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको हाँस्य फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर रिलिज गरिएको छ ।

३ मिनेट २९ सेकेण्ड लामो ट्रेलर मुख्य पात्र धुर्मुस र सुन्तलीको वरिपरि घुम्छ । बेरोजगारीले निम्त्याएको घर झगडा र समस्या ट्रेलरमा देख्न सकिन्छ ।

सिताराम र कुञ्जनाको लेखन र निर्देशनसमेत रहेको फिल्ममा दुवैले लोकप्रिय टेलीसिरियल ‘मेरी बास्सै’को धुर्मुस-सुन्तलीको भूमिकालाई पुन: निर्वाह गरेका छन् ।

सिताराम, कुञ्जनासँगै फिल्ममा बुद्धि तामाङ, रवि गिरी, विजय बराल, पल्पसा डंगोल, बलदीप राई, सुमन कार्कीलगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मुभी’बाट सार्वजनिक गरिनेछ । तर, सार्वजनिक मिति भने तय भइसकेको छैन ।

फिल्मको बारेमा बोल्दै कुञ्जना भन्छिन, ‘सुरुमा त वेव सिरिजको रुपमा निर्माण गरेका थियौँ । पछि मेकिङ राम्रो देखिएपछि वेव फिल्मको रुपमा रुपान्तर गरेका हौँ ।’

सुबिहानी फिल्म्सको व्यानरमा निर्मित फिल्ममा राजेन्द्र बजगाईंको संगीत, सुदिप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । 

हाल चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरिरहेका सिताराम र कुञ्जनाले डेढ वर्ष अगाडी ‘सेन्टी भाइरस’ निर्माण गरेका थिए । तर, फिल्म व्यवसायिक र समिक्षागत रुपमा पूर्णत असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्