‘एक्स नाइन’मा अनमोल पक्का, सौगातदेखि पुष्पसम्मको लाइनअप



रंगखबर, काठमाडौँ – अन्तत: अभिनेता अनमोल केसीले निर्देशक मुकुन्द भट्टको नयाँ फिल्म साइन गरेका छन् ।

लामो समयदेखि निर्देशक भट्टको ‘एक्स नाइन’सँग आफ्नो नाम जोडिएपनि अनमोलले आधिकारिक सम्झौता भने गरेका थिएनन् । शनिबार राजधानीको एक पाँच तारे होटलमा निर्माण पक्ष र अनमोल बीच कागजी सम्झौता भएको हो ।

एक्सन थ्रिलर फिल्मका लागि अनमोलले महँगो पारिश्रमिक लिएको बुझिएको छ । तर, निर्माण पक्षले कति रकम भन्ने खुलाएको छैन ।

गोल्डेन हिल्स पिक्चरको व्यानरमा निर्माण हुने ‘एक्स नाइन: लेभल १’मा अनमोलसँगै सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाललगायतका कलाकारहरुको अभिनय रहनेछ । 

फिल्ममा भट्ट र सौगातको यो तेस्रो सहकार्य हो । यी दुईले यसअघि ‘लप्पन छप्पन’को दुई सिरिजमा काम गरिसकेका छन् ।

निर्माण पक्षले फिल्मको भिलेन भूमिकाको लागि बलिउड अभिनेता सुनिल सेट्टीलाई प्रस्ताव राखेको बताएका छन् । तर, आधिकारिक सम्झौता हुन् बाँकी रहेको छ ।

दिनेश भट्टको कार्यकारी निर्माण र राजीव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्रीको निर्माण रहने फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्