१६ वर्षपछि सँगै फिल्म खेल्दै भुवन र शिव



रंगखबर, काठमाडौँ – सोभित बस्नेतको ३१ औँ निर्देशकीय फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् ।

निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडी बढ्न पाएको थिएन ।

अब भने भदौ ५ बाट फिल्मको छायांकन सुरु हुनेछ । ६० दिनको छायांकन सेड्युल रहेको फिल्मलाई काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । 

फिल्ममा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेल फाइनल भइसकेका थिए ।

भुवन जोडिएसँगै फिल्मको लाइनअप बलियो बनेको छ । करिब १६ वर्षपछि भुवन र शिवले सँगै काम गर्न लागेका हुन् । यी दुई सुपरस्टार पछिल्लो पटक वि.सं. २०६२ सालको फिल्म ‘राजु राजा राम’मा सँगै देखिएका थिए ।

स्मरण रहोस ‘राजु राजा राम’का निर्देशक पनि सोभित बस्नेत नै थिए । अन्तत: लामो समयको अन्तरालपछि उनले दुई सुपरस्टारलाई सँगै प्रस्तुत गर्न लागेका हुन् ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहनेछ ।

रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्