‘स्पाइडर म्यान’ र ‘पुष्पा’ हेर्न उर्लिए दर्शक, टिकट पाउनै मुस्किल



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि नेपाली बक्सअफिसमा रिलिज भएका दुई विदेशी फिल्म ‘पुष्पा’ र ‘स्पाइडर म्यान: नो वे होम’ हेर्न दर्शक उर्लिएका छन् ।

तिहारमा रिलिज ‘सूर्यवंशी’पछि नेपाली फिल्म घरमा दर्शकको लाइन देखिएको हो । यसबीचमा रिलिज भएका अन्य फिल्मले उत्साहजनक व्यापार गर्न चुकेका थिए ।

‘स्पाइडर म्यान: नो वे होम’ र ‘पुष्पा’को रिलिजसँगै मल्टीप्लेक्सबाट अन्य फिल्मको शो हटाइएको छ ।

‘स्पाइडर म्यान’ शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भैरहेको छ । बक्सअफिसमा टिकट लिने दर्शकको लाइन लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्मका शो हाउसफुल देखिएका छन । कयौँ दर्शक त टिकट नपाएर फर्किएका छन् ।

काठमाडौँ उपत्यकासँगै देशका ठुला स्टेशन पोखरा, नेपालगंज, बुटवल, दमौली, चितवन, बिर्तामोड, बिराटनगर पनि भरिभराउ छन् ।

शुक्रबार उर्लिएका दर्शक र शनिबारलाई मध्येनजर गर्दै केहि मल्टीप्लेक्सले नयाँ शो पनि थपेका छन् । सुरुवाती ५७ शो दिएको क्युएफएक्सले शनिबारको लागि ६३ शो पुर्याएको छ ।

बिग मुभिजले १ शो थप गरेर ११ पुर्याएको छ । एफक्युबले ३ शो थप्दै शनिबारको लागि १३ शो छुट्टयाएको छ । वान सिनेमाज, सिडिसी, क्युज र किर्तिपुर सिनेप्लेक्सले समान १/१ शो बढाएका छन् ।

यस्तै बिएसआरले २ शो थप गरेको छ । उता आइएनआइ सिनेमाजले भने ‘स्पाइडर म्यान’को ३ शो कटौती गर्दै ‘पुष्पा’को शो ७ पुर्याएको छ ।

उसले शुक्रबार १२ शो ‘स्पाइडर म्यान’लाई र ४ शो ‘पुष्पा’लाई बाँडेको थियो । ‘स्पाइडर म्यान’लाई टक्कर दिइरहेको ‘पुष्पा’ले क्युएफएक्समा ३४ शो पाएको छ ।

अन्य हलले पनि क्षमता अनुरुप ‘पुष्पा’लाई राम्रो शो दिएका छन् । शो अनुरुप ‘पुष्पा’मा पनि दर्शकको चाप उतिक्कै देखिएको छ । यो ९० देखि शतप्रतिशतको अकुपेन्सीमा प्रदर्शन भैरहेको छ ।

पुष २ गते नै रिलिज हुने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ भने दुई साता पछाडी सर्दै १५ गतेमा पुगेको छ ।

मल्टीप्लेक्समा ‘स्पाइडर म्यान’को दबदवा, उच्च शो र आक्रामक बुकिङ

प्रतिक्रिया दिनुहोस्