मल्टीप्लेक्समा ‘कठपुतली’लाई १८.८६ प्रतिशत शो, विदेशी फिल्मको दवदवा कायमै



रंगखबर, काठमाडौँ – आज शुक्रबारदेखि हलमा नेपाली हरर फिल्म ‘कठपुतली’ प्रदर्शनमा आएको छ । ‘कठपुतली’सँगै हलिउड फिल्म ‘घोस्टबस्टर: अफ्टर लाइफ’ले पनि नेपाली मल्टीप्लेक्स डेब्यु गरेको छ ।

यस्तै पुष २ गते रिलिज भएका ‘पुष्पा’ र ‘स्पाइडर म्यान: नो वे होम’ तेस्रो हप्तामा पनि हावी देखिएका छन् । भने, गत साता रिलिज भएको ‘अतरंगी रे’ लगभग उत्रिने अवस्थामा पुगेको छ ।

अनलाइन बुकिङ खुलेका मल्टीप्लेक्सले देशभर यी पाँच फिल्मका लागि १५९ शो निर्धारण गरेका छन् । जसमा ‘पुष्पा’ले ४२.७६ प्रतिशत शोज कब्जा गरेको छ ।

दोस्रो नम्बरमा रहेको ‘स्पाइडर म्यान: नो वे होम’ले २६.४१ प्रतिशत शो पाएको छ । यस्तै ‘कठपुतली’ले १८.८६ प्रतिशत शो कब्जा गर्दै प्रदर्शन सुरु गरेको छ ।

‘कठपुतली’ले पाएको शोजलाई सन्तोषजनक मान्न सकिन्छ । पहिलो दिनको विहानी शोजमा फिल्मको ५ देखि ३० प्रतिशतको हारहारीमा अकुपेन्सी देखिएको छ ।

यो अकुपेन्सी दिवा शोजमा बढोत्तरी भएको छ । दिउँसो र बेलुकाको शोमा फिल्मले ५० प्रतिशत भन्दा माथिको अकुपेन्सी सेट गर्ने छनक देखाएको छ ।

शनिबारको बुकिङ पनि राम्रो देखिएकाले केहि मल्टीप्लेक्सले दोस्रो दिन शोज बढाउन सक्छन ।

भीमसेन लामाले निर्देशन गरेको हरर फिल्मले प्रदर्शन अगाडीको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । फिल्ममा मिथिला शर्मा, कर्मा, उषा रजक, शिल्पा मास्के, गौरी मल्ल, ध्रुव कोइरालालगायतका कलाकारहरुको अभिनय छ ।

हलिउड फिल्म सिरिज ‘घोस्टबस्टर: अफ्टर लाइफ’ले १०.०६ प्रतिशत शो पाउँदा बलिउड फिल्म ‘अतरंगी रे’ १.८८ प्रतिशतमा खुम्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्