शो काउन्ट: ‘ए मेरो हजुर ४’लाई एक भाग, ‘केजिएफ २’लाई तीन भाग



रंगखबर, काठमाडौँ – बैशाख १ गतेदेखि रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ले मल्टीप्लेक्समा न्यून शो पाएको छ । बिहिबारदेखि अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले साउथ इन्डियन ‘केजिएफ: च्याप्टर २’सँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

बिहिबार रिलिज हुने दुई फिल्मका लागि देशका १० ठुला मल्टीप्लेक्स चेनले २ सय ३९ शो निकालेका छन् । जसमध्ये ‘ए मेरो हजुर ४’ले २३.०१ प्रतिशत शो कब्जा गरेको छ ।

‘ए मेरो हजुर ४’

झरना थापा निर्देशित फिल्मले जम्मा ५५ अर्थात (२३.०१ प्रतिशत) शो ओगटेको छ । अंकमा शो संख्या ‘ए मेरो हजुर ३’को भन्दा बढी हो । तर, प्रतिशतमा कम ।

तीन वर्ष अगाडी ‘ए मेरो हजुर ३’ रिलिज हुँदा मल्टीप्लेक्समा जम्मा १ सय ४९ शो निकालिएको थियो । त्यतिबेला फिल्मले ४६ ओटा शो पाएको थियो । जो प्रतिशतमा  ३०.८६ हुन आउथ्यो ।

फिल्मलाई क्युएफएक्सले आफ्ना ११ ओटा स्टेशनमा ३० शो दिएको छ । यस्तै आइएनआइ सिनेमाजले दुई स्टेशनमा ५ शो निकाल्दा रन्जना सिनेप्लेक्स र बिग मुभिजले समान ४/४ शो छुट्याएका छन् ।

एफक्युब ३, वान सिनेमाज ३, बिएसआर २, सिडिसी २, किर्तिपुर सिनेप्लेक्स १ र क्युजले १ शो दिएका छन ।

न्यून शो पाएपनि ‘ए मेरो हजुर ४’को बुकिङ भने औसत देखिएको छ । केहि शो छिटै भरिने प्रकियामा छन् । भने, अधिकाँस शो औसत देखिएका छन् ।

‘केजिएफ’सँगको प्रतिस्पर्धाका वावजुत बक्सअफिसमा ‘ए मेरो हजुर ४’ले आफुलाई सुरक्षित गराउने ट्रेडको अनुमान छ । अब हेर्न बाँकी छ, बलियो फिल्मसँग जुधाईमा ‘ए मेरो हजुर ४’ले आफुलाई कहाँनेर उभ्याउने छ ?

‘केजिएफ: च्याप्टर २’

‘केजिएएफ’ले बिहिबारका लागि ७६.१५ प्रतिशत शो कब्जा गरेको छ । उसलाई क्युएफएक्सले ११ स्टेशनमा ९३ शो दिएको छ । अन्य मल्टीप्लेक्सले ८९ शो उपलब्ध गराएका छन् ।

प्रतिशतका आधारमा ‘केजिएफ’को हल संख्या ‘आरआरआर’को भन्दा १९.०१ प्रतिशतले कम हो । ‘आरआरआर’ले पहिलो दिन ९५.१६ प्रतिशत शो कब्जा गरेको थियो । जतिबेला १ सय ८६ शो निकालिएको थियो ।

यस्तै शो संख्याका आधारमा ‘आरआरआर’ भन्दा ‘केजिएफ’ जम्मा ५ शोले अगाडी छ ।

‘केजिएफ’ र ‘ए मेरो हजुर ४’को आगमनसँगै ‘आरआरआर’को शो ०.८३ प्रतिशतमा खुम्चिएको छ ।

बिहिबारको शोमा ‘ए मेरो हजुर ४’ले मल्टीप्लेक्सको एक भाग कब्जा गर्दा तीन भागमा ‘केजिएफ’को दवदवा देखिन्छ ।

(यो तथ्यांकमा क्युएफएक्स, बिग मुभिज, सिडिसी, बिएसआर, आइएनआइ लोत्से/बुटवल, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, रन्जना सिनेप्लेक्स, वान सिनेमाज र एफक्युब हल मात्र समावेश छन्)

सम्बन्धित समाचार:-

वितरकको चपेटामा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’, मल्टीप्लेक्समा न्यून शो

९५.१६ प्रतिशत शो ओगट्दै नेपाली बक्सअफिसमा रिलिज भयो ‘आरआरआर’

प्रतिक्रिया दिनुहोस्