दीयाले भनिन्, ‘आधार शिविर फर्किदा ‘मन्त्र’को प्रतिक्रिया सुन्न उत्सुक हुनेछु’



रंगखबर, काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेकी अभिनेत्री दीया पुनले ५ हजार मिटर माथिको उचाईमा आफु अभिनित फिल्म ‘मन्त्र’को प्रचार गरेकी छन् ।

सगरमाथा आधार शिविर ५,३६४ मिटर उचाईमा उनले रिलिज अगाडी अन्तिम पटक फिल्मबारे पोस्ट गरिन ।

‘मेरो नयाँ फिल्म ‘मन्त्र’ बैशाख १६ देखि देशव्यापी प्रदर्शनमा आउदैछ । मैले तपाईसँगै यो फिल्म हेर्न असक्षम रहनेछु । जुन कारण म निराश छु ।’

दीया अगाडी लेख्छिन, ‘शिविर १, २ र ३ मा पुग्न मेरो रोटेशन सुरु गर्न भोलि बिहान आधार शिविर छोड्दै छु । केहि दिन अफलाइन रहनेछु । आशा छ, जब म आधार शिविर फर्किने छु, म ‘मन्त्र’को लागि तपाईको प्रतिक्रिया सुन्न उत्सुक हुनेछु ।’

आधार शिविरको अगाडी दीयाले नेपालको झण्डा अंकित ‘मन्त्र’को पोस्टर समाएर पोज दिएकी छन् ।

यसअघि एसिया बाहिर विश्वको अग्लो हिमाल ‘ओकान्कागुवा’ (६,९६१ मि) र विश्वकै आठौँ अग्लो हिमाल ‘मनास्लु’ (८,१६३)को सफल आरोहण गरेकी दीया सगरमाथा (८,८४८.८६ मि) आरोहणको लागि आधार शिविरबाट अगाडी बढेकी हुन् ।

सम्भवत: दीयाको आरोहणसम्म ‘मन्त्र’ देशव्यापी प्रदर्शनमा आइसक्नेछ । यो फिल्ममा दीयाले हिमाली युवतीको भूमिका निर्वाह गरेकी छन् ।

मनास्लु संरक्षण क्षेत्रमा खिचिएको फिल्ममा दीयासँगै सौगात मल्ल, बुद्धि तामाङ, नमिता तामाङको मुख्य भूमिका छ ।

यस हिमालयन लभस्टोरीलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् ।

साम्तेन भुटिया, परिच्छेद सेन र सुनिल नेउरेले लेखेको फिल्ममा नमिता घिसिङ र वीरबहादुर लामाको पनि मुख्य भूमिका छ ।

फिल्ममा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सन्तोष सुनारको संगीत छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा विराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । भने, सह-निर्मातामा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन्। ।

यो फिल्म बैशाख १६ गतेदेखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्