‘प्रसाद २’ट्रेलरबाट अर्पणको चौतर्फी चर्चा



रंगखबर, काठमाडौँ: फिल्म ‘प्रसाद’ले बक्स अफिसमा सुखद व्यापार मात्र गरेन, समीक्षक र दर्शकबाट पनि तारिफ नै तारिफ कमायो । यो फिल्ममा कलाकार निश्चल बस्नेत खलपात्रको भूमिकामा थिए । निश्चलको एक गल्तीले नै फिल्मलाई नयाँ मोडमा लगेको थियो ।

फिल्मका प्रस्तुतकर्ता सुभाष थापाले केही बर्षको अन्तरालपछि ‘प्रसाद २’ निर्माण गरेका छन् । यसपटक, खलपात्रको रुपमा निश्चलको स्थानमा अर्पण थापा भित्रिएका छन् ।

 

सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ । फिल्मलाई सामाजिक संजालमा वा हलमा हेरेका दर्शकले यो फिल्म प्रतिक्षित बनेको बताइरहेका छन् ।

फिल्ममा नायक विपिन कार्की र नायिका केकी अधिकारीको मुख्य भूमिका छ । तर, यसपटक खलपात्रको रुपमा भित्रिएका अर्पण थापाको भूमिका, उनको अभिनय र संवाद बोल्ने शैलीले दर्शकमाझ नयाँ चर्चा पाइरहेको छ ।

फिल्ममा यदि उम्दा निर्देशक भएको खण्डमा अभिनय पनि उत्कृष्ट गर्ने अर्पणले ‘प्रसाद २’मा गरेको अभिनयले चर्चा पाइरहेको छ । अर्पण थापाको संवाद, उनको फरक शैलीको गेटअपले दर्शकलाई आकर्षित मात्र गरेको छैन, फिल्म हेर्ने रुची समेत बढाएको छ ।

फिल्ममा विपिन र केकीसँग अर्पणको दुश्मनी देखाइएको छ । अर्पणको एक गल्तीले विपिन र केकीको जीवन छिन्न भिन्न भएको कथा ट्रेलरमा देखाइएको छ ।

फिल्ममा अर्पणले अर्का उम्दा कलाकार विपिन कार्कीलाई कडा टक्कर दिएको देख्न सकिन्छ । सुशिल पौडेलको लेखनमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्म चैत्रको २४ गतेबाट रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्