रंगखबर, काठमाडौँ: फिल्म ‘माग्ने राजा’को फर्स्ट लुक पोस्टर रिलिज गरिएको छ। काठमाडौँमा पत्रकार सम्मेलनका बीच पोस्टरसँगै फिल्मको अफिसियल रिलिज मितिपनि तय गरिएको छ। अबभने केदार घिमिरे र वर्षा सिवाकोटी स्टारर फिल्म भदौको ६ गतेबाट देशभर रिलिज हुने भएको छ। सार्वजनिक दुई पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा फिल्मका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ ।
निर्देशक ऋषी लामिछाने यसै फिल्मबाट निर्देशनमा कमब्याक गर्दैछन। निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । उता फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका हुन् । उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन बिक्रम राई, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । फिल्ममा अभिनेता आर्यन सिग्देल गेस्ट अपिरियन्स देखिदैछन् ।



