अभिनेत्री सलिना तामाङ अभिनेता मुकुन भुसालको अपोजिट आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’ मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्नेछिन्।
निर्माण टिमका अनुसार सलिनाले यसै महिना फिल्मसँग औपचारिक सम्झौता गरेकी हुन्। ‘कंगाल करोडपति’ मा मुकुन भुसाल र सलिना तामाङ पहिलो पटक पर्दामा जोडीका रूपमा देखिनेछन्।
फिल्ममा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त फिल्म भएको बताएकी छन्।
“यस फिल्ममा एउटा पात्रको रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु। मेरो अभिनय र आउँदै गरेको यस फिल्मलाई सबैले धेरैभन्दा धेरै माया र साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु,” उनले फिल्ममा अनुबन्धित भएपछि प्रतिक्रिया दिँदै भनिन्।
सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ मा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन्। सचदेव रणवीर कपूर अभिनीत ब्लकबस्टर फिल्म ‘एनिमल’ लगायत विभिन्न चर्चित फिल्ममा अभिनय गरिसकेका अभिनेता हुन्।
‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदैछ। फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्।
फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माण टिमका अनुसार केही कलाकारको छनोट सम्पन्न भइसकेको छ भने केही नयाँ पात्रका लागि चाँडै अडिसनको घोषणा गरिने तयारी भइरहेको छ।




