‘झिङ्गे दाउ २’ ले दमदार ट्रेलर सार्वजनिक गर्दै ल्यायो दर्शकमाझ उत्साहको लहर



दशैँको मुखमै नेपाली फिल्म ‘झिङ्गे दाउ २’ ले आफ्नो दमदार ट्रेलर सार्वजनिक गर्दै दर्शकमाझ उत्साहको लहर ल्याएको छ। ट्रेलर हेरेपछि धेरैले सामाजिक सञ्जालमा एउटै प्रतिक्रिया दिएका छन्– “यो फिल्म त हलमै हेर्नुपर्छ!”

सार्वजनिक ट्रेलरमा दाजुभाइको सम्बन्ध, देउरानी–जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आफ्नी आमा खोज्ने भावुक कथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ। एकातिर हाँसो छ भने अर्कोतिर आँखा रसाउने दृश्य पनि छन्। यही मिश्रणले ट्रेलरलाई अझ आकर्षक बनाएको छ।

फिल्ममा केकी अधिकारी र आँचल शर्माको मुख्य भूमिका रहेको छ भने महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह र संगम भण्डारीको अभिनयले ट्रेलरलाई थप बलियो बनाएको छ।

यसअघि सार्वजनिक ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीतले युट्युब र टिकटकमा तहल्का मच्चाइसकेको छ। छोटो समयमै ३७ लाखभन्दा बढी भ्युज बटुलेको उक्त गीत अहिले पनि दर्शकमाझ उत्तिकै लोकप्रिय छ। गीतको सफलताले फिल्मप्रतिको अपेक्षा झन् बढाएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको हो। सुलभ प्रतिक देउजा र समीक्षा देउजाले लगानी गरेको यो फिल्म असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

ट्रेलर, गीत र कलाकारको लोकप्रियता हेर्दा ‘झिङ्गे दाउ’ दशैँ–तिहारको छुट्टीमा नेपाली बक्स अफिस कब्जा गर्ने दाबेदार फिल्मका रूपमा अगाडि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्