नेता भर्सेस कलाकार : यो एकता राजनीतिमा पनि भइदिए…



Anil Yadav–अनिल यादव
तापक्रम ३२ डिग्री सेन्टिग्रेड । चर्को घाम र प्रचण्ड गर्मी । मैदानको एकातिर हरियो जर्सीमा नेताहरू ‘वामअर्प’ गरिरहेका थिए । अर्कातिर कलाकारहरू रातो जर्सीमा ‘हामी यति गोल हान्छौँँ, उति गोल हान्छौँ’ भन्दै मिडियाकर्मीहरूसँग गफिइरहेका थिए । कलाकार हरिवंश आचार्य भन्दै थिए, ‘फुटबल चाहिँ हामीले नै जित्नुपर्छ । नेताहरूले संविधानमा जित्नुपर्छ ।’ उता मैदानमा अन्य शीर्ष नेताभन्दा अघि नै झुल्किएका एमाले पूर्वअध्यक्ष झलनाथ खनाल भन्दै थिए, ‘यो एकता र सहकार्यको सन्देश हो । हामी नेता र कलाकार भूकम्पपीडितको सहयोगार्थ एकजुट हुन तयार छौँ, देश बनाउन तयार छौँ भन्ने सन्देश पनि यो फुटबल खेलले दिन्छ ।’
football netaप्रसंग हो, भूकम्पपीडितको सहयोगार्थ राजधानीको हलचोकस्थित सशस्त्र प्रहरी बल, मुख्यालयको खेल मैदानमा नयाँ पत्रिका दैनिकले आयोजना गरेको ‘नेता भर्सेस कलाकार’ फुटबल प्रतियोगिताको । दृश्य ऐतिहासिक थियो । माहोल रमाइलो थियो । प्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, मोहन वैद्य किरण, विजयकुमार गच्छदारलगायत शीर्ष नेताहरू मैदानमा फुटबल खेल्न उत्रिएका थिए । उनीहरूसँग खेल्न तत्पर थियो, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, करिश्मा मानन्धर, दीपकराज गिरी, दीपाश्री निरौलालगायत कलाकारहरूको टोली । दर्शक पनि उत्तिकै आतुर थिए, उनीहरूको खेल हेर्न ।

‘राजनीतिक खेलको अनुभव लामै भए पनि फुटबलको अनुभव त यिनीहरूसँग के होला र ?’ खेल हेर्न आएका एक दर्शक भन्दै थिए । राष्ट्रपति रामवरण यादवले नेताका क्याप्टेन सशील कोइराला र कलाकारका क्याप्टेन महजोडीलाई संयुक्त रूपमा बल हस्तान्तरण गरेपछि खेल सुरु भएको थियो । खेलका केही दृश्य साँच्चै रोचक थिए । जसले अनलाइनदेखि अखबारसम्म कब्जा जमाएका थिए ।

‘यस्तो एकता राजनीतिमा भइदिए’
देशका सबै शीर्ष नेता एकै रङको जर्सी र मोजा लगाएर उभिएका थिए । खेलमा एकले अर्कालाई आफ्नो नेता र कार्यकर्ता ठानेर पास दिइरहेका थिएनन्, आफ्नै टिमका सदस्य ठानिरहेका थिए । खेलको सुरुमै प्रधानमन्त्री सुशील कोइरालाले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई बल पास गरिदिएपछि दर्शकदीर्घाबाट ताली बजेको थियो । काठमाडौँ, बसुन्धराका कृष्ण पोखरेलले भने, ‘यस्तो एकता राजनीतिमा पनि भइदिए, संविधान निर्माण र देशको पुनर्निर्माणमा पनि भइदिए !’

फुर्तिला प्रधानमन्त्री
sushil koirala final
सबैलाई लागेको थियो– प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थिति कमजोर भएकाले उनी पाँच मिनेट पनि मैदानमा नटिक्लान् । सायद नेताका कोचलाई समेत त्यस्तै लागेको थियो । तर, प्रधानमन्त्री कोइरालाले मैदानमा कमाल गरिदिए । त्यस्तो चर्को घाममा पनि उनले २५ मिनेट फुटबल खेले । अन्य शीर्ष नेताहरू केपी ओली, प्रचण्ड, मोहन वैद्य लगायतले पाँच मिनेटमै मैदान छाडिसकेका थिए । खेल सुरु भएको पाँच मिनेटमै कोच हरि खड्काले प्रधानमन्त्रीलाई समेत ‘रिप्लेस’ हुन आग्रह गरेका थिए । तर, उनले ‘म खेल्छु’ भनेपछि मैदानमा बेग्लै रौनक छायो । खेलकी ‘कमेन्टेटर’ कोमल वली प्रधानमन्त्रीलाई उक्साउँदै थिइन्, ‘हाम्रो प्रधानमन्त्री अझै खेल्नुहुन्छ । पूरा समय खेल्नुहुन्छ ।’ प्रधानमन्त्री कहिले बललाई हेडिङ गर्न खोजिरहेका थिए, कहिले उफ्री–उफ्री बल हानिरहेका थिए । कहिले लड्थे पनि । दर्शकका आँखा पनि उनकै खेलमा केन्द्रित थिए । उनको फुटबल उत्साह र कमाल देखेर कीर्तिपुरका हरिशरण महर्जन भन्दै थिए, ‘यस्तो कमाल देशको विकासमा देखाइदिए हुन्थ्यो ।’

खेलाडी लड्थे, दर्शक हाँस्थे
priyanka karki footballअभिनेत्री प्रियंका कार्की बल छुनका लागि धेरै दौडिइन् । तर, उनको खुट्टामा बल पर्दैनथ्यो । उनी दुईपटक भन्दा बढी लडिन् । एकपटक त एमालेका युवा नेता महेश बस्नेत र उनी दुवै मैदानमा पछारिएका थिए । त्यतिबेला दर्शकको हाँसोले माहोल रमाइलो भएको थियो । अर्की नायिका पूजा शर्मा खूबै जोशका साथ मैदान छिरिन्, तर त्यो जोश खेलमा देखिएन । नेकपा एमालेका नेता विष्णु पौडेलले दौडिने क्रममा आफूलाई नै धान्न सकेनन् । उनी निकै नमज्जासँग मैदानमा पछारिएका थिए । एमाओवादी नेत्री हिसिला यमी पनि लडेकी थिइन् । र, आफू लडेको देखेर आफँै मस्त हाँसिरहेकी थिइन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र नेकपा एमालेका नेता विष्णु पौडेलविच पनि बल आफ्नो नियन्त्रणमा राख्न घम्साघम्सी नै चलेको थियो । तर, दुवै लड्न पुगेका थिए । कलाकार र नेता लड्दा दर्शक जोडले हाँसिरहेका हुन्थे ।

कुर्सीमा गोलरक्षक
खेलको मध्याह्नसम्म नेताहरूलाई कलाकारहरू एकोहोरो दबाब दिइरहेका थिए । त्यही भएर होला मैदानमा एउटा रोचक दृश्य देखियो, जुन विश्वकै फुटबल इतिहासमा नौलो थियो । कलाकारतर्फ राते काइँला भनेर चिनिएका सुनील थापा गोलरक्षक थिए । आफ्नो पोस्टमा बल नआएपछि सुनील कुर्सी नै ल्याएर मैदानमा बसेका थिए । आजसम्म कुनै पनि गोलकिपर मैदानभित्रै कुर्सीमा बसेको देखिएको छैन ।

कालो प्यान्टमा पम्फा
दुवै टिमका खेलाडी आफ्नो जर्सीमा थिए । नेताको जर्सी हरियो थियो । तर, नेकपा माओवादीकी नेत्री पम्फा भुसाल कालो प्यान्ट लगाएरै मैदानमा छिरेकी थिइन् । त्यतिबेला सबैका आँखा उनमा केन्द्रित थिए । ‘नियम त मिच्नु भएन नि,’ दर्शकदीर्घामा उनीविरुद्ध गाइँगुइँ चलेको थियो ।

राजेश र आर्यनको खोजी
कलाकारको टोलीमा महानायक भनेर चिनिएका राजेश हमाल र चकलेटी अभिनेता आर्यन सिग्देल देखिएनन् । हमाल र नायिका रेखा थापाको त पोस्टरमा फोटो समेत राखिएको थिएन । तर, आर्यनको नाम भने कमेन्टेटर वलीले खेलाडीको नाम पढ्ने बेलामा लिएकी थिइन् । दर्शकलाई लागेको थियो– आर्यन पक्कै आएका छन्, खेल्छन् पनि । खेलको मध्याह्नमा धेरै कलाकारसँग फोटो खिचाउँदै थिइन् एक युवती । तर, उनले आर्यनलाई खोजिरहेकी रहेछिन् । नभेटेपछि भन्दै थिइन्, ‘सबै आएका छन् । आर्यन पनि आउनुपर्ने । फोटो खिचाउन पाइएन भने त बोर हुन्छ ।’

‘संविधानमा नेताले जितून्
३–० को अन्तरले कलाकारले नेतालाई हराए । कलाकारका तर्फबाट मनराजा श्रेष्ठ, रोशन श्रेष्ठ र नवीन केसीले १–१ गोल गरेका थिए । खेल जितेपछि कलाकारका क्याप्टेन हरिवंशले शुक्रवारकर्मीसँग भने, ‘हामीले फुटबलमा जितेम्, अब संविधानमा नेताहरूले जितून् । यसो भयो भने उनीहरूले सबैको मन जित्नेछन् ।’
साभार : शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्