राष्ट्रिय झण्डा जलाउने ८ जना पक्राउ, यस्तोसम्म हुन्छ सजाय



रंगखबर, काठमाडौँ – एक म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् । गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय, सम्पादन, छायांकन गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

दुई दिनअघि ‘मंगोल हप अफिसियल’ नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो ।

गीतमा राष्ट्रिय झण्डा र ढाकाटोपीलाई लक्षित गरि कोरिएका शब्दहरु आपत्तिजनक छन् । अहिले सामाजिक संजालमा नेपालको राष्ट्रियता, जातीय सद्भाव र स्वाभिमान दखल पुर्याउने खालको भन्दै गीत चौतर्फी विरोध भैरहेको छ । ‘देशद्रोही’ नामको उक्त गीतमा आपत्तिजनक शब्द र केहि राष्ट्र विरोधी दृश्यहरु पनि समेटिएका छन् ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्