भ्यालेन्टाइन डे डिस्कोर्स : प्रेमविरोधी समाज र बजार



sangeet shrota–सङ्गीत श्रोता
भ्यालेन्टाइन डेलाई बजारले ‘प्रेम गर्ने दिन’ भनेर प्रचार गर्छ । मेरो बुझाइमा प्रेमले कुनै दिन कुरेर बस्दैन, जसरी भोकले आउँदो वर्षको भतेरको प्रतीक्षा गर्दैन । बजारले उपभोक्ताको मनोविज्ञान ‘कब्जा’ गर्न तीजदेखि दशैंसम्म, भ्यालेन्टाइनदेखि क्रिसमससम्मलाई बढाइचढाइ गर्छ, गरिरहेको छ । किनकी उसलाई सामान बेच्नका लागि यस्ता थुप्रै ‘उत्सव’ चाहिन्छन् । भ्यालेन्टाइन डेको सबैभन्दा बढी प्रचार अहिले तिनै व्यापारीहरूबाट भइरहेको छ, जो गुलाब, कार्ड वा उपहारका अरु सामान बेच्न चाहन्छन् ।

समाजको ढाँचाकाँचाले व्यक्तिको प्रेम वा यौन जीवनको पनि निर्धारण गर्दछ । नेपालमा थुप्रै प्रेम गर्ने जोडीहरू अभिभावकहरूद्वारा तर्साइन्छन्, अभिभावकहरू समाजको मूल्य–मान्यताबाट तर्साइन्छन्, अनि समाजको मूल्य कुनै न कुनै रूपमा राज्यको आर्थिक–सांस्कृतिक व्यवस्थाबाट निर्धारित र अनुकूलित हुन्छ । नेपालमा अहिले पनि दलित वा गैरदलितबीचको प्रेमसम्बन्ध भत्काउन अभिभावक, समाज र परोक्ष रूपमा राज्य क्रियाशील छ । अहिले पनि ब्राह्मण बाउआमाहरू सन्तानको प्रेम गैरब्राह्मणसँग होला कि भनेर चनाखो हुन्छन् । अहिले पनि बहुसंख्यक पहाडी समुदायका युवायुवतीहरू मधेसी प्रेमीप्रेमिका बनाउन आँट गर्दैनन् । अहिले पनि बहुसंख्यक युवायुवतीले आफूखुशी सुरु गरेको प्रेम–सम्बन्धलाई समाजका परम्परागत मूल्यहरूका अगाडि घुँडा टेकाउन बाध्य छन् ।

नेपालमा बालबच्चालाई एउटा यस्तो फ्रेमभित्र राखेर हुर्काइन्छ, जसका कारण ऊ फरक भाषा, फरक समुदाय र फरक पहिचानसहित हुर्केको अर्को बच्चालाई साथी बनाउन हिच्किचाउँछ र जसको परिणाम किशोर भइसक्दा फरक जात, क्षेत्र वा पहिचानको साथीलाई प्रेम गर्नै ऊ डराउँछ, किनकी उसको प्रेमलाई समाजको स्थापित संरचनाले मान्यता दिँदैन । अनि बजार यही मौका छोपेर वर्षको एकदिन उपहारसहित प्रेम–प्रस्ताव राख्न ‘अफर’ गर्छ । नेपाली युवायुवतीले प्रेम गरेका कारण अहिले पनि सजाय भोगिरहेका छन्, अझ युवतीहरू त्यसको सबैभन्दा बढी शिकार भएका छन् । त्यसको ठूलो अर्थ–राजनीतिक र सांस्कृतिक कारण छ । युवाहरू वर्षको एकदिन बजारले प्रचार गरेको भ्यालेन्टाइन डेमा प्रस्ताव गर्न होइन, बरु प्रेमविरोधी समाजका संरचना भत्काउन हरदिन क्रियाशील हुनुपर्छ जस्तो मलाई लाग्छ । प्रेम–प्रस्ताव गर्न भ्यालेन्टाइन डे कुर्ने प्रेमी र प्रेम–कविता लेख्न त्यही दिन पर्खने कवि दुवै बजारको शिकार हुने सम्भावना देख्छु । (‘शुक्रवार ‘ साप्ताहिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्