पत्रकारलाई ‘मार्छु’ भन्ने सुदर्शन गौतमलाई बहिष्कार गर्ने निर्णय



रंग खबर, काठमाण्डौं । समाचार लेखेकै भरमा पत्रकार श्यामसुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिने ‘हिम्मतवाली’ का कलाकार सुदर्शन गौतमलाई चलचित्र पत्रकार संघले बहिष्कार गर्ने निर्णय गरेको छ ।
SUDARSHAN PHOTPधम्कीका विषयमा १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण सहित माफी माग्न संघले सुदर्शनलाई प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरेको थियो । तर, उनले कुनै पनि प्रतिक्रिया नजनाएपछि शुक्रवार बसेको संघको बैठकले उनका सबै गतिविधीहरु बहिष्कार गर्ने निर्णय गरेको महासचिव सन्दिप सापकोटाले जानकारी दिए ।

यस्तै संघको मर्यादालाई ख्याल नगरेको भन्दै आफ्ना दुई सदस्यलाई कारवाही समेत गरेको छ । केही दिनअघि फिल्मकर्मी सुरेशदर्पण पोखरेलले आफुलाई धम्काएको भन्दै पत्रकार दीप विमलीले संघमा निवेदन दिएका थिए । त्यसपछि संघले पोखरेलका विरुद्ध प्रेस विज्ञप्ती निकालेको थियो ।

सोहि विषयमा संघको प्रतिष्ठालाई ख्याल नगरी समाचार सम्प्रेषण गरेको भन्द आफ्ना सदस्यहरु अनुप भट्टराई , श्यामसुन्दर गिरि र चलचित्र पत्रकार चितवन शाखा अध्यक्ष रवि अधिकारीलाई संघले स्पष्टीकरण सोधेको थियो । जसमा चित्तबुझ्दो जवाफ नआएको भन्दै दुई सदस्यलाई संघले कारवाही गरेको जनाएको छ ।

चितवन शाखाका अध्यक्ष रवि अधिकारीको जवाफ अमर्यादित , उच्श्रृंखल र चित्त बुझ्दो नभएको भन्दै विधान अनुसार साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको विज्ञप्तीमा उल्लेख छ । उनी निष्कासन भएसंगै चितवन शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शाखा उपाध्यक्ष रामेश्वर रिजाललाई दिदै ३ महिना भित्र शाखाको अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति निर्माण गर्न संघले सोही बैठकमार्फत निर्देशन समेत दिएको छ ।

यस्तै संघका सदस्य अनुप भट्टराईको जवाफ पनि चित बुझ्दो नरहेको र व्यक्तिगत रुपमा सोधिएको गोप्य स्पष्टीकरणलाई सामाजिक संजालमा सार्वजनिक गरि अमर्यादित र अनुशासनहिन कार्य गरेको भन्दै विधान अनुसार ६ महिनाको लागि निलम्वन गर्दै सो अवधि भर निजको गतिविधिलाई निगरानी गर्ने निर्णय गरिएको बताइएको छ ।

त्यसैगरी अर्का सदस्य श्यामसुन्दर गिरीको स्पष्टीकरणमा भने केही सहमति र केही असहमति जनाउँदै आगामी दिनमा संघको मर्यादालाई ख्याल गरेर काम गर्न संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्