रिपोर्टरको डायरी : दाउरा दुनियाँ



anil yadav–अनिल यादव
काठमाडौँ, सुन्धारास्थित शुक्रवारको कार्यालय नजिकै संकटामन्दिर छेउ एकजना दिदी रोटी बेल्दै ग्यासमा पकाइरहेकी थिइन् । अनि, त्यस पसलसँगै ६०/६५ वर्षको देखिने एक वृद्धा आगो बेस्कन फुक्दै थिइन् । दाउरा राम्रोसँग बलिरहेको थिएन । हातमा क्यामेरा बोकेर पुगेको मलाई देख्नासाथ वृद्धा कान्छी तामाङले बिलौना गरिन्, ‘के गर्नु बाबु, यही दाउरा बालेर भए पनि दुईछाक टार्नुपरेको छ । चिया बेच्नै प¥यो । ग्यास पाइने होइन । मट्टितेल पनि भाउ बढेर किन्नै नसकिने भइसकेछ ।’ १५ वर्षदेखि चियापसल गरिरहेकी उनी विगत दुई महिनादेखि दाउरा बालेर चिया बेचिरहेकी रहेछिन् । ‘नाकाबन्दी भन्दै चुप लागेर बस्नुभएन । अरू बेला १५ रुपैयाँमा बेच्ने चियालाई २० मा बेचिरहेको छु । जेनतेन गुजारा चलाउन खोज्दै छु ।’ उनका आफ्नै दुःख कम थिएनन् । तर, उनी भन्दै थिइन्, ‘बाबु, उ पर जानुस् त, त्यहाँ झन् बिजोग छ ।’
म त्यतैतिर लाँगे ।
kanchi tamangत्यो भोजनालय रहेछ । ‘चिया, चाउमिन, मःमः सबै पाइन्छ’ भनेर लेखिएको थियो । पसल अगाडि दुइटा चुलो थिए । दाउरा छरपस्ट थिए । एउटा आगोमा चिया, अर्कोमा दाल पाकिरहेको थियो । कठ्यांग्रिदो जाडोमा सकी नसकी आगो फुक्दै थिइन्, पसल्नी दिदी । म घाँटीमा क्यामेरा झुन्डाएर पुगेको थिएँ । देख्नासाथ कुटुम्लाझैँ गरेर उनी झम्टिइन्, ‘फोटोसोटो केही खिच्नुपर्दैन । आफ्नै घरमा गएर आफ्नै फोटो खिचेर पत्रिकामा हाल्नू । जति गरे पनि केही हुने होइन । बेकारमा हाम्रो बेइज्जत मात्र ।’ देशमा भइरहेको अभावबाट उनी विरक्तिएकी रहेछिन् । अनुहारमा प्रस्ट निराशाभाव देखिन्थ्यो । ‘यहाँमात्र दुःख भए पो,’ उनी अविराम बोलिरहेकी थिइन्, ‘जताततै दुःख छ । सरकारलाई पनि थाहा छ । सबैलाई थाहा छ । त्यही पनि कसैले केही लछारपाटो लाउने होइन क्यारे !’

एकछिनमै छतमा केही दाउरा बोकको गाडी त्यहाँ आइपुग्यो । दाउरा लिन पसलका सबै दौडिएर पुगे । मैले केही फोटो खिच्न भ्याएँ ।

सुन्धारानजिकै एउटा सानो पसलमा पनि उस्तै दुःख थियो । सकी–नसकी दाउरा बालेर चिया पकाइरहेकी थिइन्, कमला शाही । सोही पसलमा मासु व्यापार पनि हुँदो रहेछ । नौ वर्षदेखि सञ्चालित त्यो पसल भएको घर पनि कमलाकै रहेछ । भूकम्पले केही चर्काएको रहेछ । मैले फोटो खिच्न खोजेपछि छेउमै बसिरहेकी कमलाकी सासूले भनिन्, ‘ल है बाबु, साह्रै दुःख पाइयो । यस्तो चिसोमा आगो फुक्दै चिया पकाउनुपरेको छ, खाना पकाउनुपरेको छ । यसरी कहिलेसम्म चल्छ ?’
यस्तो दुःख गर्नुपरे पनि आफूले चियाको मूल्य नबढाएको कमलाले बताइन् । ‘दूधमा पानी त हाल्न मन लाग्दैन,’ उनले भनिन्, ‘भाउ बढाउने त कुरै नगर्नुस् । अरूतिर २० रुपियाँमा बेचिरहेका छन्, हामी १५ मै दिइरहेका छौँ । यस्तो दुःखमा जनतालाई अझै दुःख दिँदा पाप पो लाग्छ ।’
उनकै पसलमा चिया खाइरहेका नारायण नकर्मीले आफ्नो समस्याका पोका फुकाए, ‘सानो घर भएकाले दाउरा बाल्न मिल्दैन । बिजुलीको हालत पनि त्यस्तै छ । ग्यास कसैलाई दुइटा दिन्छन्, कसैलाई एउटै दिँदैनन् । पैसा नहुनेले कसरी बाँच्ने ?’

सिभिल मलको प्रवेशद्वारमै रहेको मःमः पसलको पनि उस्तै हाल थियो । ह्वारह्वारी बलिरहेको दाउराको आगोमा मःमः पाक्दै थियो । ‘नाकाबन्दीपछि धेरै दिन भयो, यसरी नै पकाइरहेका छौँ,’ वेटरले सुनाए । ‘मलको हालत त यस्तो छ, झुपडीको त के होला ?’ मःमः खाइरहेका सविन लामाले भने । (साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्