बालविवाह र दाइजोविरुद्ध लाग्ने २४ जनालाई सम्मान



रंगखबर, काठमाडौं । बालविवाह एवम् दाइजो विरुद्ध लाग्ने २४ जना अभियन्तालाई बिहिवार राजधानीमा सम्मान गरिएको छ ।बालविवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले उनीहरुलाई बालविवाह एवम् दाइजो विरुद्धका जनायोद्धा बताउँदै सम्मान गरेको हो ।
बालविवाह रोकेको र दाइजो नलिइ विवाह गरेको भन्दै बैतडीबाट कुन्ती भट्ट, रुपन्देहीबाट प्रियंका हरिजन, कपिलवस्तुका सुनिता कहार, प्युठानका सिमा के एम, धनुषाका नागेन्द्र साह, कैलालीका विनोद जोशी, महोत्तरीका नन्दकिशोर योदव, सर्लाहीका सुशिल कुशवाहा, सिरहाका चन्दनकुमार यादव, बाराका महमद अन्सारी र सुनिलकुमार सर्राफ सम्मानित भए ।

त्यस्तै बालविवाह एवम् दाइजो विरुद्ध आन्दोलनका अभियन्ताका रुपमा सिन्धुपाल्चोकका सफलता भण्डारी, सप्तरीका करुणा झा, दैलेखका हिरासिंह थापा, कपिलवस्तुका रामानन्द दुवे, धनुषाका नविन मिश्रा, पर्साका प्रकाश प्रसाद थारु र बिज्रेश्वसर प्रसाद चौधरी र सप्तरीका डा. सिके सिंहले सम्मान ग्रहण गरे ।

बालविवाह र दाइजो विरुद्धको आन्दोलनमा राष्ट्रिय स्तरमा रणनैतिक योगदान गरेको भन्दै नेपाल प्रहरी हेड क्वार्टरका डा. राजबाबु श्रेष्ठ र राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेतीलाई सम्मान गरियो । संस्थाहरुमा गल्र्स नट बाइडस नेपाल, युनिसेफ, डिएफआईडी सम्मानित भए ।

सम्मानित हुनेहरुलाई कार्यक्रमकी प्रमुख अतिथिमहिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति, व्यवस्थिपका संसदकी सभापति रञ्जू झा ठाकुर र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव केदार बहादुर अधिकारीले सम्मान हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा यस अभियानकी सद्भावना दुतअभिनेत्री स्वेता खड्काले दाइजो र बालविवाह विरुद्धको परोपकारी अभियानमा सघाउने सबैप्रति आभार प्रकट गरिन । ‘यो सम्मानले दाइजो र बालविवाहजस्तो सामाजिक समस्याविरुद्ध लाग्न अझ उर्जा र हौसला थप्नेछ भन्ने हाम्रो आशा छ,’ सम्मान कार्यक्रममा यस बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियानका संयोजक राजकुमार महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्