बंगुरपालनमा लागे मैनाली र बुढाथोकी दम्पत्ती (तस्विरसहित)



अनिल यादव,  झापा ।  एक समय थियो जतिबेला क्षेत्री बाहुनहरुले बंगुर छुदैन थिए । छुनेहरुले छोएको खाँदैन पनि थिए । तर समयले अब कोल्टे फेरिसकेको छ । अहिले कतिपय आर्यन जातभित्र पर्ने मानिसहरुले बुंगुर छुने मात्र होइन् यसलाई पाल्न पनि थालिसकेका छन् । यसकै एक उदाहरण हुन् झापा सतासीधामका दुई दम्पत्ती ।

bangurpalan 2

सतासीधाम–५ मा रहेका देवीप्रसाद मैनाली र धनबहादुर बुढाथोकीले १ कठठ जग्गा लिजमा लिएर सँयुक्त रुपमा बंगुरपालन गरिरहेका छन् । स्थानिय माधव मैनालीको जग्गा वार्षिक १३ हजार रुपैयामा लिज लिएको उनीहरुले बताए ।

६ महिनाअघि शुरु भएको उनीहरुको शिखर कृषि फार्ममा श्रीमतीहरुले पनि साथ दिइरहेका छन् । ‘हामी व्यस्त रहँदा श्रीमतीहरुले बंगुरको स्याहारसुसारमा हामीलाई सघाइरहेका छन्’, दुवैले एकै स्वरमा भने । फार्ममा अहिले ५ जाँतका गरी ३० वटा बंगुरहरु रहेका छन् ।

मैनाली र बुढाथोकी दुवै वैदेशिक रोजगारमा जाने तयारीमा थिए । तर मेहेनत गर्दा नेपालमै विदेशको भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने प्रशस्त उदाहरणहरु देखेपछि उनीहरुको मन परिवर्तन भएको बताए । ‘म त विदेश जानका लागी काठमाण्डौसम्म पुगिसकेको थिएँ ’, बुढोथोकीले भने– ‘तर त्यस्तै प्रक्रिया नमिल्दा र नेपालमै केही गर्नुपर्छ भनेर सोच्दै जाँदा बंगुरपालनमा राम्रो सम्भावना देखेर लाँगेको हुँ ।’ बुढाथोकी यसअघि नेपाल प्रहरीमा कार्यरत थिए । पेन्सन पाकेपछि उनी घरमा बसेका हुन् ।

यता अर्का पार्टनर मैनाली भने विदेशमा १० वर्ष बसेर पनि केही उपलब्धी हासिल गर्न नसकेपछि बंगुरपालनमा लागेका हुन् । ‘साउँदीमा ७ वर्ष र कतारमा ३ वर्ष बसे’, मैनाली भन्छन्– ‘तर केही उपलब्धी गर्न सकिन्, गर्नसक्दा नेपालमै विदेश छ भनेर बंगुरपालनमा लागेको हु ।’ ‘म र मेरो छिमेकी धनबहादुर जी विदेशको विकल्प खोजिरहेका थियौँै, त्यहीक्रममा बंगुरपालन हाम्रो रोजाइमा प¥यो’, उनले थपे ।

मैनालीकी श्रीमती दुर्गा मैनाली पनि साउँदी र कुवेत गरी लगभग ५ वर्ष वैदेशिक रोजगारमा गइन् । श्रीमान–श्रीमती दुवै मिलेर विदेशमा कमाउन गएका उनीहरुले एउटा घर बनाउन र छोरालाई पढाउनबाहेक केही गर्न नसकेको दुर्गा बताउँछिन् । ‘अब बंगुरपालनले एउटा आशा जगाएको छ’, उनले भनिन् । बाहुनकी छोरी भएर बंगुरपालनमा लाग्दा अरुले जिस्काएनन् भन्ने प्रश्नमा उनले आफ्नो अगाडी कसैले त्यस्तो कुरा नगरेको बताइन् । ‘पछाडी कुरा काट्छन् भने त भगवानै जानुन्’, उनले थपिन् ।

bangurpalan

‘हामीले धेरै बंगुरपालन गरिरहेका फर्महरुको निरीक्षण ग¥यौ’, बुढाथोकीले भने– ‘यसमै फाइदा हुने जस्तो भएपछि शुरु गरेका हौँ । ’ उत्पादन हुने समय भइनसकेकाले आम्दानी कति हुन्छ भन्ने विषयमा अहिले नै भन्न नसकिने पनि उनले बताए । ‘एउटा बुंगरले कम्तीमा १२ वटासम्म पाठा–पाठी पाउँछ’, उनले भने– ‘त्यही अनुसारको उत्पादन भए राम्रो आम्दानी हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ बँगुरपालनका लागि विभिन्न तालिमहरु पनि लिइरहेको उनले जानकारी दिए ।

त्यसैगरी उत्पादन अगावै यस फर्ममा बंगुर र मलको माग हुन थालेको बुढाथोकी बताउँछन् । ‘पूर्वको इटहरी, उर्लावारी, पथरी, धरमपुर, शिवगञ्ज र सतासीधाम लगायतका क्षेत्रबाट बंगुरको लागी अग्रिम बुकिङ गरिरहेका छन्’, उनले सुनाए ।

नेपालमा रोजगारी छैन् भनेर वेरोजगार बस्ने र विदेश पलायन हुनेहरुले यि दुई दम्पत्तीको प्रयासबाट केही सिक्ने की ?

प्रतिक्रिया दिनुहोस्