‘छ माया छपक्कै’लाई ४८.४४ प्रतिशत शोज, तोड्ला त ‘छक्का पन्जा’ सिरिजको रेकर्ड ?



रंगखबर, काठमाडौँ – दीपक-दीपाले निर्माण गरेका फिल्मबाट पछिल्लो समय नेपाली बक्सअफिसले ठुलो आशा बोक्ने गरेको छ । यो टिमले निर्माण गरेको छैटौँ फिल्म ‘छ माया छपक्कै’ २४ असोजदेखि अलनेपाल रिलिज हुँदैछ ।

दीपेन्द्र लामाले निर्देशन गरेको फिल्मको लागि मल्टीप्लेक्स तर्फ अग्रिम बुकिङ खुल्ला गरिएको छ । बक्सअफिसमा सर्वाधिक कमाई गरेको ‘छक्का पन्जा’ सिरिजका शृंखला भन्दा ‘छ माया छपक्कै’लाई मल्टीप्लेक्सले कम शो छुट्याएका छन् । तर, यसलाई नराम्रो भन्न मिल्दैन ।

नेपाली ‘कबड्डी ३’, बलिउडको ‘वार’ र हलिउडको ‘जोकर’ले बक्सअफिस तताइरहेका छन् । यस चपेटामा रिलिज हुँदै गरेको ‘छ माया छपक्कै’को ओपनिङ बम्पर नभए पनि उत्साहजनक हुने अनुमान गरिएको छ । फिल्मको अग्रिम बुकिङ राम्रो छ । तर, उत्कृष्ट छैन ।

कति पायो शोज ?

यो साता राजधानीका ठुला ७ मल्टीप्लेक्सले शुक्रबारको लागि १६१ शोज निर्धारण गरेका छन् । जसमा बानेश्वरमा नयाँ खुलेको ‘वान सिनेमाज’को पनि शोज जोडिएको छ । १६१ शोज मध्ये ‘छ माया छपक्कै’को पक्षमा ४८.४४ (७८) प्रतिशत बाँडिएको छ ।

प्रतिशतमा ४८.४४ वर्षकै तेस्रो ठुलो अंक हो । ‘कबड्डी ३’ले सर्वाधिक ६७.८७ (११२) प्रतिशत शोज कब्जा गरेको थियो । यस्तै ‘दाल भात तरकारी’ले ५२.२८, ‘रातो टिका निधारमा’ले ३९.२१, ‘जात्रै जात्रा’ले ३७.५, ‘वीर विक्रम २’ले २४.३० र ‘मारुनी’ले १५.४९ प्रतिशत हिस्सा ओगटेका थिए ।

‘छ माया छपक्कै’लाई क्युएफएक्सले ४३, क्युजले ७, बिग/एफक्युब/वान सिनेमाजले समान ६/६ र बिएसआर/सिडिसीले समान ५/५ शोज बाँडेका छन् ।

५१.५५ प्रतिशत हिस्सामा पुराना फिल्मको दबदबा

‘छ माया छपक्कै’सँग नेपाली बक्सअफिसमा अन्य ४ फिल्म प्रदर्शन भैरहेका छन् । शुक्रबारदेखि चौथों सातामा प्रवेश गर्दै गरेको ‘कबड्डी ३’ ९.३१ प्रतिशत स्थानमा टिकिरहेको छ । भने, दोस्रो सातामा प्रदर्शन भैरहेको ‘वार’ले २२.३६ र ‘जोकर’ले १८.६३ प्रतिशत हिस्सा ओगटेका छन् ।

यस्तै ‘रातो टिका निधारमा’ १.२४ प्रतिशतमा टिकिरहेको छ । यो वर्ष आशा गरिएका फिल्म मध्ये ‘रातो टिका निधारमा’को व्यापार सर्वाधिक कमजोर रह्यो । दशैँको विदामा पनि फिल्मले उल्लेख्य दर्शक तान्न सकेन ।

‘छ माया छपक्कै’ जनमुखी फिल्म हो, यसमा उद्यमी धेरै – दीपेन्द्र लामा

‘रातो टिका निधारमा’लाई ३९.२१ प्रतिशत शोज, मल्टीप्लेक्समा नेपाली फिल्मको दबदबा

‘कबड्डी ३’लाई ६७.८७ प्रतिशत शो, वर्षकै ठुलो ओपनिङको संकेत

प्रतिक्रिया दिनुहोस्